२८ असार, नेपालगन्ज । नेपालमा पछिल्लो २४ घण्टामा ८२ जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै नेपालमा कुल संक्रमितको संख्या १६ हजार ८०१ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आइतबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा १४७ जना कोरोनामुक्त भएर घर फर्किएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या ८ हजार ५८९ पुगेको छ ।
आइतबारसम्म २ लाख ८३ हजार ५१५ पिसिआर परीक्षण सम्पन्न भएको छ भने आरडिटी परीक्षणको संख्या ३ लाख १२ हजार ४०२ यथावत् छ । विगत् केही दिनदेखि आरडिटी परीक्षण गर्न बन्द गरिएकाे छ ।
अहिलेसम्म २३ हजार ८७४ जना क्वारेन्टाइनमा रहेका छन् भने ८ हजार १७४ जना आइसोलेसनमा रहेका छन् ।
हालसम्म काेराेनाका कारण ज्यान गुमाउनेकाे संख्या ३८ रहेकाे छ ।