समाचार स्वास्थ्य

हुम्लाका नागरिकहरुको हवाई मार्गबाट उद्धार

२० बैशाख, बाँके । लकडाउनका कारण नेपालगंज र सुर्खेतमा अलपत्र परेका हुम्लाका नागरिकहरुको हवाई मार्गबाट उद्धार सुरु भएको छ ।

हुम्लाबासीको मागलाई मध्यनजर राख्दै पर्यटन मन्त्रालयले नेपालगंज र सुर्खेतमा लकडाउनमा फसेका हुम्लाबासीलाई हवाई सेवाबाट उद्धार गर्ने निर्णय गरे अनुसार हुम्लाका नागरिक ओसार्ने काम सुरु भएको हो ।

हुम्लाका नाम्खा, सिमकोट र खार्पुनाथ गाउँपालिकाका नेपालगंज र सुर्खेतमा करिब ९ सय नागरिक रहेको बताइएको छ । शनिबार पहिलो फ्लाईटमा नाम्खाका नागरिक ओसार्न सुरु भएको छ । शनिबार १२ बजेसम्म नेपालगञ्जबाट सिता एयर २, तारा १ र समिटले १ पटक उडान गरेका छन । यात्रुहरु सबै सिमकोट बिमान स्थलमा स्वास्थ्य परिक्षण (ज्वरो नाप्ने) गर्न सुरु भएको छ । त्यस लगतै आफ्नो गाउँपालिकामा पठाईने छ ।

नेपालगंजमा रहेका ४९५ र सुर्खेतबाट चार सय गरि आठ सय पचानब्बे नागरिक ओसार्न नीजि एयरलाईन्सहरुले सुरु गरेका छन् । यी मध्य बिधार्थी, अपांग अशक्त, साठी बर्ष माथिका नागरिकलाई प्राथमिकता दिएर ओसार्न सुरु भएको छ । जिल्ला बाहिर फसेका नागरिकहरुलाई हवाई मार्गबाट उद्धारका लागि एक महिना अगाडीदेखि माग हुदै आएको थियो । हुम्ला जिल्लाका जनप्रतिनिधिहरुको आग्रहलाई पर्यटन मन्त्रालयले सडक सञ्जाल नजोडिएका हिमाली जिल्लाका लागि हवाई मार्गबाट फसेका नागरिकलाई उद्धार गर्ने निर्णय गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *