समाचार स्वास्थ्य

सरकार एसइइ र कक्षा ११-१२को परिक्षा गराउने पक्षमा छ : मन्त्री पोखरेल

१४ बैशाख, नेपालगन्ज । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सरकार एसईई र कक्षा ११–१२ को परीक्षा सञ्चालन गर्ने पक्षमा रहेको बताएका छन् ।

परीक्षाको विकल्प खोजिनुपर्ने आवाज उठिरहेको बेला शिक्षामन्त्री पोखरेलले मन्त्रालय परीक्षा सञ्चालन गर्ने पक्षमा रहेको स्पष्ट पारेका हुन् । शिक्षा पत्रकार समूहले आयोजना गरेको भर्चुअल प्रेस मिटमा बोल्दै शिक्षा मन्त्री पोखरेलले विभिन्न विकल्प अपनाएर भएपनि परीक्षा लिने पक्षमा आफू रहेको बताए । यस्तै जाडो र गर्मी विदा, चाडपर्व विदा घटाउनका साथै अतिरिक्त कक्षा बढाएर भएपनि शैक्षिक सत्र खेर जान नदिने तयारी भइरहेको मन्त्री पोखरेलले जानकारी दिए ।

मन्त्रालयले कोरोना भाइरस रोग (कोभिड(१९) को रोकथाम तथा नियन्त्रणमा सघाउन साथै, शिक्षालाई कसरी अगाडि बढाउन सकिन्छ भनेर विज्ञहरुको समिति बनाएको र सो समितिको सुझाबका आधारमा अन्य योजना बनाउने मन्त्री पोखरेलले बताए ।

पूर्व विज्ञान मन्त्री गणेश साहको संयोजकत्वमा गठित २८ सदस्यीय समितिमा विषयविज्ञहरू सम्मिलित ६ वटा उपसमितिसमेत गठन गरिएको उनले जानकारी दिए । विषयगत समितिहरुलाई शैक्षिक क्यालेन्डर, अनलाइन कक्षा सञ्चालन, प्रयोगात्मक अभ्यास, पाठ्यक्रम, तालिम, परीक्षा सञ्चालन र निरीक्षणलगायत योजना बनाउने विषयमा सुझाब दिने जिम्मेवारी दिइएको र भोलिसम्ममा प्रतिवेदन आउने सम्भावना रहेको मन्त्री पोखरेलले स्पष्ट पारे ।

भोलि मन्त्रिपरिषद्ले लकडाउन सम्बन्धमा लिने निर्णय र विज्ञ समितिको सुझाबको आधारमा शिक्षाको आगामी योजना बनाइने मन्त्री पोखरेलले जानकारी दिए । अबको एक हप्ताभित्र सबै विद्यालयलाई रिजल्ट निकाल्ने र त्यसपछिको अर्को हप्तामा माथिल्लो कक्षामा भर्ना हुने बाटो खोल्ने गरी विद्यालय तहको शैक्षिक कार्यक्रम अघि बढ्ने  गरी तयारी भइरहेकोसमेत मन्त्री पोखरेलले जानकारी दिए । विद्यालयमा बाक्लो उपस्थिति हुने र फेस टु फेस कन्ट्र्याक हुने भएकाले लक डाउन खुलेपनि निश्चित दुरी राखेर खोल्नुपर्ने बाध्यता रहेको उनले सुनाएको समचार भक्तपुर पोस्टमा प्रकाशित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *