समाचार

मुख्यमन्त्री पोख्रेलले पालिका प्रमुखसङ्ग भिडियो सम्बाद जानकारी लिने कार्य तीब्र

मुख्यमन्त्री पोख्रेलले गरे पालिका प्रमुखसङ्ग भिडियो सम्बाद

बुटवल चैत २७ – कोरोना रोकथाम तथा नियन्त्रणमा भइरहेका प्रयासबारे बुधबार ५ नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले सीमावर्ती पाँच स्थानीय तहका प्रमुखसंग एकीकृत भिडियो संवाद गरेका छन ।

कोरोना रोकथाम तथा नियन्त्रणमा प्रदेशका स्थानीय तहका प्रमुखसंग मुख्यमन्त्री पोख्रेलले नियमित भिडियो सम्बाद गर्दै आएका छन । पालिका प्रमुखहरुसङ्गको मुख्यमन्त्री पोख्रेलको यो पाचौें भिडियो संवाद हो ।

बुधबारको सम्बादमा नवलपरासी पश्चिमको सुस्ता गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डे, कपिलवस्तुको विजयनगर गाउँपालिका अध्यक्ष गोपाल थापा, कृष्णनगर नगरपालिका प्रमुख रजतप्रताप साह, रुपन्देहीको सम्मरीमाई गाउँपालिका अध्यक्ष जितेन्द्रनाथ शुक्ला र दाङको गढवा गाउँपालिका अध्यक्ष सहजराम अहिर सहभागी थिए ।

एकीकृत भिडियो संवादमा कोरोना रोकथाम र नियन्त्रणका लागि तीन तहका सरकारले अहिले गरिरहेका काम र आगामी योजनाका बारेमा छलफल भएको थियो । पालिका प्रमुखहरुबाट अहिलेसम्म गरेका कामबारे जानकारी लिएपछि मुख्यमन्त्री पोख्रेलले कोरोना नियन्त्रणमा आगामी दिनमा गर्नुपर्ने कामबारे मार्गनिर्देश गरेका थिए ।

पालिका प्रमुखहरुले भारत लगायत विदेशबाट आएका नागरिकको तथ्याङ्क संकलन, क्वारेन्टाइन निर्माण र क्वारेन्टाइनमा बस्ने व्यवस्था मिलाएको जानकारी गराएका थिए । दैनिक ज्यालादारी गरी खाने नागरिकको तथ्याङक संकलन गरी राहत वितरण गर्न थालेको जानकारी गराउँदै आवश्यक स्वास्थ्य सामग्रीको व्यवस्थापन मिलाउन उनिहरुले मुख्यमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

स्थानीयस्तरमा राहत कोष बनाएर अघि बढ्न र दैनिक ज्यालादारी गरेर खाने विपन्न नागरिकलाई राहत प्रदान गर्न मुख्यमन्त्रीले आग्रह गरे । दैनिक ज्यालादारी गरेर खाने मजदुर र विपन्न समुदायलाई खाद्यान्न लगायत सामग्रीको व्यवस्थापन गर्ने काम राज्यको दायित्व भएको र त्यसको पहिलो व्यवस्थापन स्थानीय तहले गर्नुपर्ने र आवश्यक सहयोग प्रदेशले गर्ने मुख्यमन्त्रीले बताए ।

प्रदेश सरकारले बुटवल, भैरहवा, बाँकेको खजुरा र दाङको बेलझुण्डीमा कोरोना आइसोलेसन अस्पताल निमार्ण गरेको र त्यहा आइसियु सहितको उपचारको व्यवस्था रहेकोले कोरोनाको उपचारको आवश्यक प्रवन्ध भएकोले समाजमा त्रासको वातावरणलाई चिरेर अघि बढ्न आग्रह गरे ।

क्वारेन्टाइनमा बसेकालाई र्‍यापिड टेस्टिङ गरेपछि मात्रै पठाउने र केही दिनमै र्‍यापिड टेस्ट हुने उनले जानकारी गराए । त्यसैगरी ज्वरो आएका र आइसोलेसनमा रहेकालाई स्वाब परिक्षण गरिने गरी व्यवस्था मिलाइएको पनि उनले जानकारी दिए ।

सीमावर्ती क्षेत्रबाट पूर्णतः आवतजावत बन्द गर्न आवश्यक प्रवन्ध मिलाइएको, सशस्त्र प्रहरीको संख्या बढाइएको र पालिकाहरुले पनि सुरक्षा निकायलाई आवश्यक सहयोग गर्न आग्रह गरे ।

भैरहवामा प्रयोगशाला सञ्चालनमा आएको, केही दिनमै नेपालगञ्ज र दाङमा पनि प्रयोगशाला सञ्चालनमा आउने भएकोले उच्च मनोबलका साथ कोरोना विरुद्धको अभियानमा लाग्न समेत उनले आग्रह गरे ।

अहिले खेती स्याहार्ने बेला भएकाले सामाजिक दुरी कायम गर्ने गरी खेती स्याहार्ने व्यवस्थाका लागि सहजीकरण गर्न र केही समस्या आए ध्यानाकर्षण गराउन मुख्मयन्त्रीले पालिका प्रमुखहरुलाई आग्रह गरे ।

मुख्यमन्त्रीले दाताले सिधै राहत वितरण गर्न रोक लगाउन निर्देशन दिदै राहत वितरणको आवश्यक समन्वय पालिकाले गर्ने र वडा मार्फत राहत वितरणको व्यवस्था गर्दा प्रभावकारी हुने बताए ।

कोरोना विरुद्धको अभियानलाई सफल बनाउन सबैको समन्वय र सहकार्यबाट संभव भएको बताउदै उनले केही समस्या परे तत्काल सम्पर्क गरी समाधानको पहल गर्न आग्रह गरे ।

अरु प्रदेशबाट आउने नाकामा कडाई गरी अघि बढ्नुपर्ने उनले बताए । अरु प्रदेशबाट आउने नाकालाई पूर्णतः बन्द गर्न ध्यान दिदा जोखिमबाट जोगिन सकिने भएकोले यस बिषयमा पालिका प्रमुखहरुलाई मुख्यमन्त्रीले बिशेष ध्यानाकर्षण गराएका थिए ।

कपिलवस्तुको विजयनगर गाउँपालिकामा केही दिन अघि भएको आगलागीबाट प्रभावित परिवारलाई प्रदेशबाट दिइने आवश्यक राहतका लागि प्रक्रिया छिटो टुंगोमा पुर्‍याउन मुख्यमन्त्रीले पालिका अध्यक्षलाई आग्रह गरेका थिए ।बुटवल खबर बाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *